आइतबार ०६ गते चैत्र २०६७
कावासोती
नवलपरासीको धौवादीमा शान्ति बगैँचा निर्माण हुने भएको छ । देवचुलीडाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समितिले ऐतिहासिक एवम् पर्यटकीय क्षेत्रका रूपमा रहेको रुद्रपुरमा शान्ति बगैँचा निर्माण गर्न लागेको हो ।
ऐतिहासिक रुद्र सेन राजाको दरबार भएको धौवादीको रुद्रपुरमा शान्ति बगैँचा निर्माणका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट रु १० लाख विनियोजित भएकाले समितिले शान्ति बगैँचा निर्माण गर्न लागेको हो ।
देवचुली पर्यटकीय क्षेत्रअन्तर्गत धौवादी, वरचुली, झेरीखन्डेलगायतका ऐतिहासिक स्थलको संरक्षण र विकास गर्दै पर्यटकीय आकर्षण क्षेत्र बनाउन देवचुलीडाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समिति लागिपरेको समितिका अध्यक्ष पदमराज गिरीले बताउनुभयो ।देवचुलीडाँडा आफैँमा अग्लो डाँडा रहेको हुदा यहाँबाट दृश्यावलोकन हुनसक्ने भएकाले समितिले भ्युटावर निर्माण गरेको तथा धार्मिक आस्थाका रूपमा रहेको तीनकन्या माईको मन्दिरसमेत निर्माण गरी नियमित पूजा चलाउने तयारी गरिरहेको समितिका कोषाध्यक्ष मीनबहादुर सोतीले बताउनुभयो ।
जिल्लाकै सबैभन्दा अग्लो डाँडा देवचुली एकहजार ९३६ मिटर अग्लो छ । देवचुलीको दाहिनेतर्फ रुद्रपुर गढी र देब्रेतर्फ वरचुली रहेकाले यस क्षेत्रको पर्यटकीय विकासका लागि पूर्वाधार बन्ने काम भइरहेको छ ।
गर्मी मौसममा चिसो हावापानी हुने यस ठाउँमा पर्यटकको आगमन हुने गरेकाले शान्ति बगैँचाप्रति पर्यटकको थप आकर्षण हुने विश्वास समितिले गरेको छ । जिल्लाको गहनाका रूपमा रहेको देवचुली पर्यटकीय क्षेत्रको विकासका लागि जिल्ला विकास समिति नवलपरासीले हरेक वर्ष सहयोग गर्दै आएको छ । शान्ति बगैँचा निर्माण कार्य तत्कालै पुरा गरी पर्यटन वर्ष २०११ मा पर्यटकको गतव्य बनाइने जिल्ला विकास समिति नवलपरासीका प्रमुख इन्जिनियर महेशचन्द्र न्यौपानेले बताउनुभयो ।
ऐतिहासिक धार्मिक हिसाबले महत्व बोकेको यस क्षेत्र कौरव र पाण्डवदेखि बाइसे चौबिसे राजाका इतिहाससमेत भएकाले पर्यटकको गतव्य भएको इन्जिनियर न्यौपानेले बताउनुभयो ।
मगर जातिको बाक्लो बस्ती भएको देवचुली पर्यटकीय क्षेत्र सांस्कृतिकरूपमा समेत प्रख्यात छ । देवचुली भ्रमणमा जाने पर्यटकले मगर समुदायको संस्कृतिसमेत बुझ्न पाउनेछन् ।