मंसिर १४, २०६७
डा. रामवरण यादवले हतियारको राजनीति अन्त्य गरेर समयमै नयाँ संविधान जारी गरी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्ने बताउनु भएको छ। ‘स्वदेशी उत्पादनमा भर परौँ, स्वाधीन अर्थतन्त्रको निर्माण गरौँ’ भन्ने मूल नाराका साथ आयोजित पश्चिमाञ्चलस्तरीय नवलपरासी औद्योगिक व्यापार मेला- २०६७ उद्घाटनका क्रममा राष्ट्रपति यादवले सो कुरा बताउनुभएकोहो ।कार्यक्रममा उहाँले राष्ट्रिय एकता, अखण्डता, स्वाधीनताका लागि सबै राजनीतिक दलबीच एकता, सहमति र सहकार्य जरुरी रहेको औँल्याउँदै २१औँ शताब्दीको चुनौती आर्थिक क्रान्ति भएको हुँदा सबैले चनाखो भएर जिम्मेवारीका साथ आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताउनुभयो ।तराई, पहाड र हिमाल जहाँसुकै बस्ने नेपालीबीच पनि आत्मीयता र सामीप्यता रहनुपर्नेमा जोड दिँदै राष्ट्रपति डा यादव भन्नुभयो- ” हामी सबैमा नेपाली हुँ भन्ने भावना जागृत भएमा मात्र हाम्रो अस्तित्व रहनेछ ।”राज्यको पुनःसंरचना वैज्ञानिक ढङ्गबाट हुनुपर्नेमा जोड दिँदै उहाँले नवलपरासी व्यापार मेला २०६७ अहिलेसम्मकै उत्कृष्ट मेला बन्न सफल होस् भन्ने शुभकामना पनि दिनुभयो ।कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरत्सिंह भण्डारीले समूल आर्थिक उन्नति र परिवर्तनका लागि मुलुकमा शान्ति र स्थिरताको आवश्यकतामा जोड दिनुभयो ।मन्त्री भण्डारीले सरकारले भगवान् गौतम बुद्धसँग सम्बन्धित नवलपरासी, रूपन्देही र कपिलवस्तुमा रहेका स्थलहरूलाई समेटेर लुम्बिनी एकीकृत विकास योजना ल्याउन लागेको जानकारी दिनुभयो ।मन्त्री भण्डारीले त्रिवेणीधाम, बाल्मिकि आश्रम, मौलाकालिका, पाल्ही भगवतीजस्ता पवित्र पर्यटकीय सम्भावना बोकेका धार्मिकस्थललाई सन् २०११ को पर्यटन वर्षमा समेटिने बताउनुभयो ।समारोहमा कृषि तथा सहकारी मन्त्री मृगेन्द्रकुमार सिंह यादवले नवलपरासी व्यापार मेला कृषि क्षेत्रको अग्रणी र नमुना मेला बन्न सफल रहोस् भन्नुभयो ।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कुशकुमार जोशीले शान्तिविना आर्थिक क्रान्ति सम्भव नभएकाले सबै राजनीतिक दलले निहित स्वार्थ त्यागेर सहमतिको विन्दु पहिल्याउन आग्रह गर्नुभयो ।उहाँले चीन, भारतजस्ता राष्ट्रले शान्ति भएमा लगानी गर्न उत्सुकता देखाएको पनि बताउनुभयो ।मङ्सिर २१ गतेसम्म सञ्चालनमा रहने सो व्यापार मेलामा १७५ वटा स्टल रहेका छन् ।कृषि, पर्यटन, उद्योग, व्यापार प्रवर्द्धन एवम् सूचना प्रविधिको बृहत् प्रदर्शनी भनिए पनि मेलाको मुख्य आकर्षक कृषि र सूचना प्रविधि रहेको आयोजकले जनाएका छन् ।उद्योग वाणिज्य सङ्घ नवलपरासीका अध्यक्ष वैजनाथ जैसवालको अध्यक्षतामा सम्पन्न सो समारोहमा स्थानीय भेषभूषा, कला संस्कृति झल्कने झाँकी प्रस्तुत गरिएको थियो ।यसअघि डा यादवले गैँडाकोटस्थित मौलाकालिका मन्दिरको हातामा नवनिर्मित हवनकुण्डको प्रतिमा पूजा अर्चनासहित समुद्घाटन गर्नुभएको थियो ।राष्ट्रपति डा यादवले धार्मिक सेवा समिति मौलाकालिका मन्दिरमा सहयोग गर्ने आठजना विशिष्ट महानुभावलाई सम्मान गर्नुभएको थियो ।कार्यक्रम समितिका अध्यक्ष विष्णुहरि रिमालको सभापतित्वमा भएको थियो ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें