बिहीबार १५ पूस २०६७ /३०दिसेम्बर २०१०
महेन्द्रनगरस्थित सिद्घनाथ विज्ञान क्याम्पसका शिक्षक रामबहादुर केसीले १२ वर्षअघि सुर्खेत क्षेत्रीय अस्पतालमा एलोप्याथी चिकित्सा पद्घतिअन्तर्गत 'फेस्टुला' को शल्यक्रिया गरे, तर निको भएन । 'शल्यक्रिया भए पनि लिकेज भइ नै रहेको थियो,' केसीले भने, 'त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारार्थ चिकित्सकले सुरुवाती चरणको फेस्टुला नभएकाले पाँचौंपटक शल्यक्रिया गरे पनि दोहोरिरहेको बताए ।'
एलोप्याथीबाट निको हुने पक्का नभएका केसी अन्ततः आयुर्वेदको शरण परे । चिकित्साशास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस कीर्तिपुरमा 'क्षारसूत्र चिकित्सा' अन्तर्गत शल्यक्रियाबिना गरिने उपचार पद्घतिले उनमा काम गर्यो । सात महिनादेखि उनी पूर्ण स्वस्थ छन् । 'आयुर्वेद चिकित्सकले यो पद्घति ९९ प्रतिशत सफल हुने दाबी गरेपछि मैले पनि अपनाएँ,' केसीले भने, 'उपचार गराउन समय लागे पनि म पूर्ण सन्तुष्ट छु ।'
करिब ९९ प्रतिशत निको हुने क्षारसूत्र चिकित्साअन्तर्गत फेस्टुला (भगन्दर) र पाइल्स (अल्काई) बिना- शल्यक्रिया निको हुनेमा केसी एक्ला छैनन् । आयुर्वेद क्याम्पस, कीर्तिपुरबाट हालसम्म झन्डै ४ सयभन्दा बढी व्यक्तिले बिनाशल्यक्रिया दुवै रोगबाट मुक्ति पाएका छन् । 'शतप्रतिशत सही चिकित्सा पद्घति लाग्यो,' नेपाल टेलिकम तालिम केन्द्र, बबरमहलका कर्मचारी मणिक लामाले भने, 'दुई वर्ष पुरानो फेस्टुलाको शल्यक्रिया गराउन पाटन अस्पताल पुग्दा शल्यचिकित्सले नाबल्ल्जी ने गरी ग्यारेन्टी लिन नसकिने बताए ।'
रुद्र जोशीले बीएन्डबी अस्पतालमा शल्यक्रिया गराएको दुई महिना नबित्दै फेस्टुला फेरी बल्झियो । नेत्र रोग विशेषज्ञ डा. सगुन जोशीका पिता उनले नयाँ दिल्ली गएर पनि शल्यक्रिया गराए । 'त्यहाँ पनि निको नभएपछि आयुर्वेद क्याम्पसमा क्षारसूत्र चिकित्सा गराएँ,' जोशीले भने, 'डेढ वर्षदेखि केही भएको छैन ।'
लामा, केसी र जोशी मात्र नभई आयुर्वेद क्याम्पस, कीर्तिपुरको चिकित्सा तथ्यांकअनुसार पाइल्स र फेस्टुलाको उपचार अन्तर्गत एलोप्याथिक चिकित्सा पद्घति अपनाएर दुईदेखि पाँचपटकसम्म शल्यक्रिया गराएका अन्य धेरै रोगी पूर्णतः निको भएका छन् ।
'दुई वर्षमा करिब चार सय व्यक्तिको उपचार गरेका छौं,' क्षारसूत्र चिकित्साको सफलता दर ९९ प्रतिशत रहेको दाबी गर्दै आयुर्वेद क्याम्पसका क्षारसूत्र विशेषज्ञ डा. राम आधार यादवले भने, 'शल्यक्रिया गर्नु नपर्ने पद्घतिको अर्को फाइदा के भने एकपटक निको भएपछि दोहोरिएको छैन ।' डा. राम आधारले उक्त चिकित्सामा रोगीलाई बेहोस वा स्थानीय रूपले संवेदनहीन बनाउनुनपर्ने भएकाले बहिरंग विभागमै उपचार गरिने बताए । आधुनिक चिकित्सा पद्घतिको शल्यक्रियामा फेस्टुला झिक्दा वा पाइल्स हटाउँदा गहिरो घाउ हुने गरे पनि क्षार सूत्रमा यस्तो केही हुँदैन ।
फेस्टुला र पाइल्समा क्षारसूत्र चिकित्साको सफलता हेरेर हाल भारतको अल इन्डिया इन्सिच्युत अफ मेडिकल साइन्सेज -एम्स) मा समेत यो पद्घति अपनाउने गरिएको छ । 'तर नेपालका एलोप्याथिक चिकित्सा पद्घतिका शल्यचिकित्सकले यसलाई स्वीकार गर्न नसकिरहेको अवस्था छ,' डा. राम आधारले भने, 'क्षारसूत्रमा कुनै ब्लिडिङ हुँदैन । शल्यक्रिया गराउँदा धेरै मात्रामा रगत नाश हुन्छ ।' क्षारसूत्रको उपचारका बेला रोगी पूर्ण सचेत अवस्थामा रहनुका साथै दैनिक कामसमेत गर्न सक्ने उनले बताए । घाउमा चारदेखि सात दिनमा धागो फेर्नुपर्ने हुन्छ । पूर्ण उपचारमा कम्तीमा एकदेखि डेढ महिना र बढीमा चार महिना लाग्छ ।
नरदेवी आयुर्वेदिक चिकित्सालयमा पनि डेढ वर्षदेखि क्षारसूत्र चिकित्सा उपलब्ध छ । चिकित्सालयका निर्देशक डा. रामदेव यादवका अनुसार पाइल्स र फेस्टुलामा यो चिकित्सा उपयोगी छ । 'धेरैजसो व्यक्ति आधुनिक चिकित्सा पद्घतिबाट तीन/चारपटक शल्यक्रिया गराएर फेरि बल्झी एपछि यहाँ आउने गरेका छन्,' रामदेवले भने, 'क्षारसूत्र चिकित्साको प्रभावकारिताबारे जनचेतना कम छ । नरदेवीमा डेढ वर्षयता करिब ५० जनाको उपचार भइसकेको
छ । क्षारसूत्र पाइल्स, फेस्टुला मात्रै नभई साइनस, दुष्टव्रण, ट्युमर र कुष्ठरोगको उपचारमा समेत उपगोग गरिने डा. राम आधारले बताए ।
के हो क्षारसूत्र चिकित्सा ?
'सुश्रुत संहिता' आयुर्वेद विज्ञानको प्राचीन शल्यचिकित्सा विधिको आधिकारिक ग्रन्थ हो । महषिर् सुश्रुत आयुर्वेदमा शल्यचिकित्साका जनक मानिन्छन् । उक्त चिकित्सा प्रक्रियाबाट पाइल्स र फेस्टुलाको चक्कुरहित शल्यक्रिया गरिन्छ । यो विधिमा औषधि तत्त्वयुक्त धागो प्रयोग गरिन्छ । पाइल्स वा फेस्टुला काटिएर र्झछन् र फेस्टुलाको घाउ बिनाकुनै अतिरिक्त मलमपट्टी स्वतः भरिन्छ । फेरि घाउ बल्झी दैन । यो उपचार सस्तो पनि हुन्छ ।
केबाट बनाइन्छ क्षारसूत्र ?
क्षारसूत्र क्षार (अल्कली) तथा सूत्र वा धागो (बारबोलिन थ्रेड) बाट बनाइएको हुन्छ । क्षारसूत्र बनाउनका लागि स्नुहीको दूध, अपामार्ग क्षार र बेसारको धूलो आवश्यक पर्छ । डा. राम आधारका अनुसार सबैभन्दा पहिले धागोलाई ११ पटक स्नुही दूधको लेप लगाएर सुकाइन्छ । अनि सातपटक स्नुही दूध र अपामार्ग क्षारको लेप लगाइन्छ । अन्तमा फेरि स्नुही दूध र बेसारको धूलोको लेप तीन पटक लगाए सुकाइन्छ । २१ पटकको लेपमा क्षारसूत्र तयार हुन्छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें